अाज भोली जे चलेकाे छ ।

स्थान: पुरानो बसपार्क
समय: साँझ ६:१०
बसपार्क हो वा मान्छेपार्क हो छुट्याउन गार्हो भै रहेछ । पार्कमा रहेका बसहरूमा मान्छे भरिसकेका छन् । कन्डक्टरहरू अब झुन्डिने मान्छेको प्रतिक्षामा छन् । एउटा बस आउँछ, मुस्किलले ३० सिट होला । पचासौँको हुल बसलाई छोप्न पुग्छन् । दृष्य हेर्दा लाग्छ मानिसहरू कयौँ दिन देखि भोका छन् अनि बस खानेकुराले भरिएको छ, फस्ट कम फस्ट सर्भिसको नारा लिएर । तछाड मछाड गर्दै चढ्छन् । बलिया-बाङ्गा त चढ्न भ्याउँछन् । आईमाई, बुढाबुढि अनि केटाकेटि हुन्छन् उभिनेहरूमा । कुनै बसको कन्डक्टरले रोक्दारोक्दै उद्घोस गरिसकेको हुन्छ नियमहरू
बनेपा भन्दा अगाडि रोक्दैन है…
कोटेश्वर सम्म मात्र जान्छ..
कार्ड डिस्कनउन्ट छैन है, अहिल्यै भन्द्याछु, पछि किचकिच गर्न पाईन्न…

उभिएर जाने पक्षमा म थिईन । लिफ्ट मागौँ, यो समय लिफ्ट नपाईने पिक आवर हो । कुरे, गाडि आउने आसमा र आयो पनि । उपत्यका बाहिर चल्ने गाडि रहेछ, सिटहरू खालि थिए । जडिबुटि सम्म जाने रे । लोकन्थलि सम्म हिडेरै जाने सोच बनाए । चढे गाडि, कन्डक्टर भाई आए पैसा उठाउँदै आयो । उस्को नियम पनि घोषणा गरिहाल्यो, कार्ड डिस्कनउन्ट छैन अनि भाडा बिस रूपैयाँ । मैले खुजुरा खोजि खोजि पन्द्र रूपैयाँ दिए ।
“दाई अर्को पाँच “, उसले भन्यो ।
“पन्द्र हो भाँडा “, मैले भने ।
“लोकल गाडिमा हो पन्द्र रूपैयाँ, यो भ्यालि बाहिर चल्ने गाडि हो ।”, उसले आफ्नो तर्क तेर्स्यायो ।
“त्यसो भए किन हाल्यौ त लोकल मान्छे “, जिब्रोको टुप्पै सम्म आईसकेको थियो जवाफ भनिन । बदलामा ईयरफोन कानमा कोचेर मोवाईलको किबोर्ड सँग खेल्न थाले । एकछिन उभियो र गयो अरूसँग पैसा उठाउन । म झ्याल बाहिर हेर्दै टोलाउन थाले । यत्रा बाईक अनि कार खालि दौडिएका छन् । कसैलाई लिफ्ट दिएपनि त हुने, मुलाहरू । मनको कुनामा रहेका सवारि धनिहरू कराउँछन्,” ए, घण्टौ लाईन बसेर पेट्रोल हाल्ने हामि, पैसा पनि हाम्रै खर्च हुने, अनि कहिलेकाहि परेको बेला हामिले नै लिफ्ट पाउँदैनौँ, हामि चै किन लिफ्ट दिने अरूलाई ।”

कुरो सहि हो, कति काम थाति राखेर लाईन बस्न पर्छ । नभए २५० को ब्ल्याकमा किन्न पर्छ, सर्भिसिङ्गको खर्च छुट्टै । सबै दुख उनिहरूले पाउने अनि अरूलाई किन सुख दिनु हो ? अनि मेरो मनको अर्को कुनाबाट आवाज आउँछ,” मानवता भन्ने चिज पनि त हुन्छ नि हौ साथि हो । ” म त नजिकै पुग्नु थियो, घरमा फर्किएर आमैले पकाएको भात खाएर भुक्लुक्क सुत्छु । तर ति मान्छे जो टाढा टाढा जान्छन्, घरमा बिरामि आमालाई औषधि खुवाउनु पर्ला, भोकाएका छोराछोरिलाई भात पकाएर खुवाउनु पर्ला । पानि भर्ने पालो आजै हुन सक्ला, बत्ति जानु भन्दा अगाडि नै घर पुग्न पर्ला वा अन्य थुप्रै काम हुन सक्लान् ।

भनिन्छ कसैले मनै देखि आशिर्वाद दिएमा लाग्छ रे । सवारि धनि साथिहरू अहिले दिनदिनै आशिर्वाद पाउने समय छ । जति सक्दो बटुलौ । अन्तिम सास गन्दै गर्दा, जिवनलाई फर्किएर हेर्दा सास छोड्न निकै सजिलो हुन्छ ।